लेबल

बुधवार, 9 मई 2018

पोख्न नपाएको पिडा नारि वेदना

आमा जब म तँपाईको गर्भमा आएँ
तँपाईहरुको युगल देखेर अलिअलि लजाउँदै मुस्कुराएँ
आफ्नो सानो शरिर यताउता तन्काउँदै पौडन थालें
पौडदा पौडदै थाक्थें अनि फेरि आराम गर्थें

तँपाईको गर्भमा म आएको जब थाहा भयो
सम्पुर्ण परिवारमा कानेखुशि र उमंग भरीयो
जब म २ महिनाको भएँ, त्यहि उमंग बिचमा म रमाएँ
हो आमा हो बुबा म त्यहि उमंगमा रमाएँ

म साह्रै खुशि थिएँ, रम्दै, पौडदै थिएँ
बुबाको न्यानो अंगालोको अनुभव गर्दै थिएँ
अनि तँपाईको सुम्सुम्याईको अनुभुती बटुल्दै थिएँ
म अझै राम्ररी पौडदै, खेल्दै अलि ठुलो हुदै थिएँ

आज त म चार महिनाको पुगिसकेको थिएँ
मेरो आँखा बन्द नै छन् तर प्रकाशको आभास पाएँ
आहा मलाई धेरै खुशि लागेको छ
किनकि म सृष्टिकर्ता छोरी थिएँ


अब त मेरा साना साना हात खुट्टा थिए
यसैको साहारामा म यताउता खेल्दै गएँ
आमा खै तँपाईलाई कसरी देखाउँ यो खुशि
जुन मैले तँपाईको पेटमा खेल्दा खेल्दै बटुलेको थिएँ

किनकिन आज मलाई धेरै डर लागिरहेको छ
आमा आमा भनेर चिच्याउन मन लागिरहेको छ
बुबा बुबा भनेर गुहार माग्न मन लागिरहेको छ
बल्ल थाहा भयो तँपाई अस्पतालको शैयामा हुनुहुन्छ

ऐया ! आमा मैले एउटा खुट्टा चलाउन सकिनँ
फेरि किन अर्को हात चलाउन सकिनँ
आमा मलाई अप्ठ्यारो भयो म चल्मलाउनै सकिनँ
तँपाईको अश्रुको अनुभुति गरें तर केहि गर्नै सकिनँ

अव त म टुक्रा टुक्रा भईसकेको थिएँ
तँपाईको पेटभित्र हुनुपर्ने तर म निर्जिव भाँडोमा थिएँ
तँपाईहरुको आँखाले गरेको थोपाथोपा आँसुको सिचाईको साहाराले
मेरो टुक्रा भएको तनहरु शितल पार्दै थिएँ

मेरो प्यारो आमा म किन यसरी टुक्रिएँ
किन मैले यो संसारमा पाईला टेक्न पाईनँ
मेरो प्यारो बुबा अहिले पो थाहा पाएँ
किन म यो धर्तिमा आउन पाईनँ

यहाँ त नजन्मदै हर किसिमका लान्छ्वना लगाइदो रहेछ
जन्मेर अलि खेल्न थाल्ने बितिकै बलात्कृत हुनुपर्ने रहेछ
वेश्या, बोक्सी जस्ता नामहरुले पुकारिदो रहेछ
हर क्षेत्रमा अपहेलना र तिरस्कार खप्नुपर्ने रहेछ

त्यसैले आमाबुबा मैले यो संसार हेर्न नपाएकोमा कुनै गुनासो छैन
मन थियो तँपाईहरुलाई दुईहात फैलाएर अंगालो मार्न
कुदृष्टि र कुभावबाट बचाउनु भयो पाएँ यति धेरै माया
छिटै चेतनशिल बनोस दुनिया अनि फेरि तँपाईहरुकै छोरी बनेर जन्मन चाहान्छु यो धर्तिमा


-कोमिन्ताल थामी


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें