लेबल

सोमवार, 14 सितंबर 2026

"बोकाको मुखमा कुभिन्डो"

 ए साथी, तिम्रो चालढाल देख्दा, हाँसो उठ्छ मलाई

आकाश छुने सपना देख्छौ, खुट्टा छैन जमिनमै

विचार केहि छैन तिम्रो, कुरा चाहिँ दरबारको

आफ्नो हैसियत भुलेर हिड्छौ, मालिक सारा संसारको


साथिको साथित्वभित्र आघात गर्ने तिमि

अवसर ठुलो थियो तर सम्हाल्न नसक्ने तिमि

के बोल्ने के सोच्ने पनि थाहा नपाउने तिमि

त्यसैले एकै हुनु भन्दापनि दुर हुन नै राम्रो लाग्यो हामि


जिम्मेवारी बाट टाढा भाग्ने तिमि, ढाडस नदेखाउ मलाई

एक क्लिकमा निस्किन्छ अहिलेको समयमा तिम्रै पुरै कुन्डलि 

तिम्रो ठाउँमा तिम्रै पारामा बस्नु, नजिस्काउनु

सक्छौ भुत बिर्सेर वर्तमानलाई अंगाल्दै अघि बढ्नु


गरेको सम्मानलाई अपमान सम्झिने

डाहा गरेर तिम्रै मन अशान्त नबनाऊ

सक्छौ हात तान्न प्रयास गर्नु राम्रो 

सक्दैनो खुट्टा तान्ने कुकर्म गर्ने हो भने टाढै बस्दा राम्रो


थाहा छ, एउटै ओछ्यानमा सुत्दा खुट्टाले छुन्छ भन्ने

मौका थियो, अब गुमिसकेको छ, भुलिसकें साथि थियो भन्ने 

अझै राम्रो गर्दै जाउ जुनसुकै ठाउँमा भए पनि

मेरो नजिक हुने प्रयास नगर्नु भुलेर भइ पनि

-"बसन्त"

गुरुवार, 27 अगस्त 2026

गोसाइँकुन्ड रुँदा

 रुदैछ रसुवा आज, पग्लिएर हिमपहाड झरेछ

हाँस्दै गरेको धेरै बस्ति, बगरमा परिणत भएछ

भोटेकोशी उर्लेर आयो, काल बनेर

खोसेर लग्यो खुशि सबै, ढुंगामा छाति बजारेर


गोसाइँकुन्डको पवित्र काख, आज किन यसरी रोयो

एकै झट्कामा बाढिले यहा, कति गाउँघर धोयो

धुन्चे, स्याफ्रु र टिमुरेतिर केवल क्रन्दन मात्रै छ

पहिरोले पुरिएका आफन्त खोज्दै, आँखाहरु टोलाउँदैछ


लाङ्टाङको फेदिमा हेर, रोइरहेकाछन् सम्पुर्णहरु

खोला त फर्किएला आफ्नै बाटो, फर्किन्नन त कोहि अरु

बुबाले छहारि बग्यो, सन्तानको भविस्य बगायो

रसुवाको यो पाखोमा आज, सन्नाटा मात्रै छायो


प्रकृति तिम्रो यो कस्तो न्याय, पापिलाइ मात्र सजाय दिइ हुने

निर्दोष यो पहाडि मनहरुलाइ, किन यसरि रुवाउन नहुने

भत्किएका ति सपनाका भग्नावशेषमा , जिवन फेरि ब्युताउनु छ

रोएको यो रसुवालाई, एकजुट भई अब उठाउनु पर्छ


(नोट: भाद्र १०, २०८३ रसुवाको बाढिले तहसनहस बनाएको क्षण हेर्दा.....)




बुधवार, 6 मई 2026

आरिसको परिणाम

अरुको देख्दा उन्नति, डाहले मन पोल्दछ
आफ्नै मौलिक, अस्तित्व, बिस्तारै मेटिँदैछ
अरुलाइ हेरेर कति चुर हुन्छौ
आफ्नै विवेकको दिप, आफैले नै निभाउँछौ

गरेर डाह अर्काको भलो आफ्नो हुदैन
आरिसको यो बाटोले कतै लक्ष्य छुँदैन
आफ्नै क्षमता बिर्सियौ, अरुकै पछि लागेर
आफ्नै परिचय हरायो, ईर्ष्यामा नै जागेर

सुगन्ध छरि फूल झैं, फुल्नुपर्ने तिमिले त
काँडा बनि अरु बिझ्ने काम गर्यौ किन त
अझै पनि छ त्यो बेला आरिस त्यागी देऊ
सकारात्मक यो भावना मनमा जगाऊ

प्रगतिमा अरुको नि रमाउने मन बनाऊ
आफ्नै पौरख र कर्म संसारसामु देखाऊ
नत्र यो डाहको आगो तिमि मै सल्कनेछ
गुमनाम यो चोला व्यर्थ खरानि बन्नेछ


(शान्त समय; मन लुडिबुडि गर्दै खेल्दै; डाहाले आहा हुन नसकेको जस्तो; स्विकार्न नसकेको व्यक्तिहरु सोच्दै, ललितपुर, बागडोल-४, १५:१२:००)



ऊ पुरा रुपले पुर्ण छ
मित्रता के हो भन्ने उसैमा देखिन्छ
शुत्र भनेको चिनाउने पनि ऊ नै हो
साथ त दिन्छ तर हरेक पाइलामा बाछिटा टाउकोमा पुर्याउने पनि ऊ
त्यस्ता साथ राम्रो हुदैन भन्दाभन्दै 
गुनमा पनि बेगुनि गर्ने ऊ
डाहाले भरिएको ऊ
राम्रो भन्दा नराम्रो गर्न राम्रो लाग्ने
सहि भन्दा पनि गलत गर्ने ऊ
कमजोरि लुकाउनको लागि जोडिएका सम्बन्ध काट्न अग्रसर हुने ऊ
सामना गर्ने सामर्थ्य छ तर अल्छि ऊ









मंगलवार, 21 अप्रैल 2026

त्यो बेला !!!

बसन्तयाम
पारिलो घाम
पालुवा मुनाको घाँस
सुकेको दाउरा
संहेलि उहिखालको
दस आँखा तितरवितर
कोहि घाँस, कोहि दाउरा
कोहि गित, कोहि सुसेलि
जब ४ आँखा
छत्रछाँया पल्टेका
आँखा-आँखा हेराहेर
अझै गहिरिदैं
केहि खोजिरहेको भान्
नानाथरिका शब्द
जुन बुझ्न नै नसकिने
कहिले अट्टहाँस, मुस्कान
कहिले पिपिरि, मालिङ्गो
डाँडा, पाखा, बुट्यान, रुख
भारि पुग्यो, हाम्रो शुरु नै भएको छैन
सबैजना फर्किसकेको आभाष
अकस्मात् दर्के झरि
सानो ओडार
एक अर्काको ढुकढुकि सुन्न सक्ने समिपता
पसिनाको बासना
बढिरहेको प्रश्वास
झसङ्ग मन
र पनि तन तानिन्छ
मन सम्हालिन्छ
समाज, नाता-सम्बन्ध
अनि सम्हालियौं
धन्न २ मुटु बाट १ भएन
अझै मडारिन्छ मन
झस्याङ्ग हामि
हस्याङ्ग, फस्याङ्ग भारि तयार
फेरि भेट्ने वाचा सहित
छुट्टिएका ४ आँखा
आ-आफ्नो घर
अझै बेला बेलामा 
मन कुतकुतिन्छ
हाल केहि नहुने रहेछ नि जस्तो
र पनि
हामि सम्हालिएको सम्झिँदा
सलाम गर्न मन लाग्छ
सलाम! सलाम!! सलाम !!!


रविवार, 19 अप्रैल 2026

तिमि थियौ र त म थिएँ

 तिमि थियौ र त म थिएँ


अँध्यारो गल्लीमा हराएको एक निरीह पथिक जस्तै थिएँ म,

कुनै अर्थ नभएको, एउटा बेवारिसे शब्द जस्तै थिएँ म ।

शून्य आकाशमुनि एक्लै टोलाइरहेको बेला,

मेरो जीवनको रित्तो पानामा तिमीले रङ भरिदियौ,

अनि त बल्ल एउटा पूर्ण कथा जस्तै बनेँ म ।

तिमि जून बनेर आयौ मेरो कालरात्रि चिर्न,

तिमि घाम बनेर आयौ मभित्रको जमेको शीत टिप्न ।

मरुभूमिको तातो बालुवामा तिमीले शितलताको आभास दियौ,

मेरो ओइलाएको सपनालाई आफ्नै पसिनाले सिञ्चित गरिदियौ ।

त्यो तिम्रो साथको न्यानोपनले गर्दा नै त,

आज यो दुनियाँसँग आँखा जुधाएर बाँच्न सक्ने भएँ म ।

कहिले ओत बन्यौ झरीमा, कहिले सहारा बन्यौ थकाइमा,

तिमीले नै विश्वास भर्यौ मेरो हरेक धर्मराउँदो हिँडाइमा ।

यदि तिमी नभएको भए, म त केवल एउटा छाया हुन्थेँ,

कुनै अस्तित्व नभएको, एउटा व्यर्थको माया हुन्थेँ ।

मेरो पहिचान, मेरो अस्तित्व र मेरो यो मुटुको धड्कनमा,

तिमी नै त छौ, मेरो हरेक सफलताको स्पन्दनमा ।

मेरो हाँसोमा तिम्रो ओठको मुस्कान मिसिएको छ,

मेरो खुसीमा तिम्रो अथाह त्याग र समर्पण गाँसिएको छ 

आज जे छु, जस्तो छु, सबै तिम्रै मायाको प्रतिबिम्ब हो

मेरो यो जीवन तिम्रै प्रेरणाले सजिएको एक सुन्दर बिहानी हो 

त्यसैले त आज म गर्वका साथ भन्न सक्छु

हो, तिमि थियौ र त म थिएँ, तिमी छौ र त आज म छु 


(यात्राका यात्रिहरुले पुरै यात्रामा साथ नहुँदा)

रविवार, 1 मार्च 2026

पसिनाको मूल्य र युद्धको छायाँ


तातो बालुवा, चर्को घाम, निधारमा पसिना, 

सम्झनामा झलझली आउँछ, त्यही सानो मझेरी र आँगन। 

गाउँको ओतमा बुढाबुढी बा-आमा, टोलाउँदै बाटो हेर्छन्, 

“छोरो या छोरि कहिले फर्किएला?" भन्दै, हरेक पल औँला भाँच्छन्।


असीम आशा बोकी छुट्टिएका ती जोडी, मनभरी माया लिएर, 

बन्द कोठामा आँसु लुकाउँछन्, भिडियो कलमा मुस्कुराएर। 

“बाबा वा आमा कहिले आउनुहुन्छ?" भन्दै तोते बोलीमा सोध्ने सन्तान, 

तिनकै भविष्यका लागि त हो, यो पराइ भूमिमा सुम्पेको ज्यान।


तर आज मन काँप्छ, समाचारमा बम र मिसाइलको गडगडाहट सुन्दा, 

दुई छाक टार्न हिँडेकालाई, मृत्युको भयले घेर्दा। 

रगतले भिजेको माटोमा, कतै आफ्नै सपना त पुरिने होइन? 

स्वदेश फर्कने त्यो जहाज, बाकस बनेर आउने त होइन?


हे दैव! कस्तो यो नियति, जहाँ पसिनाले खुसी किन्नु पर्छ, 

एकातिर परिवारको भोक, अर्कोतिर युद्धको गोला बर्सिन्छ। 

शान्ति मिलोस् ती मनहरूलाई, जो परदेशमा पिल्छिएका छन्, 

सकुशल फर्कून् ती पाइलाहरू, जो घर पुग्न तड्पिएका छन्।


(२०८२ फागुन १६, अमेरिका, इज़रायल, इरान र लगायत वरपर देशहरुमा बम, बारुद, मिसाइल झर्दा अनि त्यहाँ काम गरिरहेका नेपालीहरु सम्झिदै)