तातो बालुवा, चर्को घाम, निधारमा पसिना,
सम्झनामा झलझली आउँछ, त्यही सानो मझेरी र आँगन।
गाउँको ओतमा बुढाबुढी बा-आमा, टोलाउँदै बाटो हेर्छन्,
“छोरो या छोरि कहिले फर्किएला?" भन्दै, हरेक पल औँला भाँच्छन्।
असीम आशा बोकी छुट्टिएका ती जोडी, मनभरी माया लिएर,
बन्द कोठामा आँसु लुकाउँछन्, भिडियो कलमा मुस्कुराएर।
“बाबा वा आमा कहिले आउनुहुन्छ?" भन्दै तोते बोलीमा सोध्ने सन्तान,
तिनकै भविष्यका लागि त हो, यो पराइ भूमिमा सुम्पेको ज्यान।
तर आज मन काँप्छ, समाचारमा बम र मिसाइलको गडगडाहट सुन्दा,
दुई छाक टार्न हिँडेकालाई, मृत्युको भयले घेर्दा।
रगतले भिजेको माटोमा, कतै आफ्नै सपना त पुरिने होइन?
स्वदेश फर्कने त्यो जहाज, बाकस बनेर आउने त होइन?
हे दैव! कस्तो यो नियति, जहाँ पसिनाले खुसी किन्नु पर्छ,
एकातिर परिवारको भोक, अर्कोतिर युद्धको गोला बर्सिन्छ।
शान्ति मिलोस् ती मनहरूलाई, जो परदेशमा पिल्छिएका छन्,
सकुशल फर्कून् ती पाइलाहरू, जो घर पुग्न तड्पिएका छन्।
(२०८२ फागुन १६, अमेरिका, इज़रायल, इरान र लगायत वरपर देशहरुमा बम, बारुद, मिसाइल झर्दा अनि त्यहाँ काम गरिरहेका नेपालीहरु सम्झिदै)
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें